कोरोनाका कारण बैंकिङ सेवा बन्द नहुने

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण मुलुक ठप्प अवस्थामा पुगेका बेला बैंकिङ सेवा भने बन्द नहुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै बैंक तथा वित्तीय संस्था अत्यावश्यक सेवाभित्र परेकाले नियमित रुपमा सञ्चालन राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालद्वारा जारी सूचनामा विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै यथासम्भव न्यूनतम कर्मचारीहरुबाट सेवा सुचारु राख्न निर्देशन दिइएको हो ।

राष्ट्र बैंकले सिफ्टमा काम लगाउन र सम्भव भएको काम घरबाट नै गर्न व्यवस्था मिलाउन पनि भनेको छ । ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा हुने कर्मचारीलाई संक्रमणबाट जोगाउन सेनिटाइजर, माक्स, पन्जा लगायतका सुरक्षाका साधन प्रयोग गर्न आग्रह गरेको छ । भीडभाड नगराइ सुरक्षाको प्रत्याभूतिका साथ काम गर्न पनि भनिएको छ । साथै, विद्युतीय कारोबारलाई प्रोत्साहन दिन केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

विश्वभर फैलिएको कोभिड १९ को प्रभावलाई मध्यनजर गरी गत शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेकका सेवा चैत ९ गतेदेखि २१ गतसम्म बन्द गर्ने निर्देशन दिएका थिए ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top