एसियाकप छनोट : सान्त्वना खेलमा वर्षा वाधक

काठमाडौँ । थाइल्याण्डमा जारी एसीसी इर्स्टन रिजन ट्वान्टी–२० प्रतियोगिता अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल स्थगित भएको छ । थाइल्यान्डको ट्रेडथाई क्रिकेट मैदान रातको वर्षाले भिजेर खेल्न नहुने अवस्थामा पुगेपछि  शुक्रबारका लागि तय भएको खेल स्थगित भएको हो ।

उपाधिको दावेदार मानिएको नेपाल एसियाकप छनोटको प्रारम्भिक चरण पार गर्न असफल रह्यो । एसियाकप क्वालिफायर्सको दौडबाट बाहिरिएको नेपाल शुक्रबारको खेल जितेर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहान्थ्यो । तर वर्षा बाधक हुँदा टस नै नगरी खेल स्थगित भएको हो ।

यसअघि भएका ३ खेलमा नेपालले २ खेलमा पराजय बेहोरेको थियो भने, एउटा खेल जितेको थियो । प्रतियोगिताको पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपाल दोश्रो खेलमा हङ्कङसँग ४३ रनले पराजित भएको थियो ।

आफ्नो तेश्रो खेलमा भने थाइल्याण्डमाथि ९ विकेटको जित हात पारेको थियो ।

पाँच टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टीम एसियाकप क्वालिफायर्सका लागि छनोट हुनेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको सिंगापुर भने यसअघि नै क्वालिफायर्स खेल्न छनोट भैसकेको छ । सिंगापुरसंगै आजै हुने मलेसिया र हङकङबीचको विजेता टीम क्वालिफायर्समा पुग्नेछन् ।

एसियाकप सेप्टेम्बरमा आयोजना हुनेछ । इस्टर्न र वेस्टन रिजनबाट छनोट भएका दुई-दुई टोलीले अगस्टमा एसियाकप छनोट खेल्नेछन्। वेस्टर्न रिजनबाट युएई र कुवेत छनोट भएका छन् । त्यो प्रतियोगिता विजेताले टेस्ट मान्यताप्राप्त ५ राष्ट्रसँग एसिया कप ट्वान्टी–२० खेल्ने अवसर पाउनेछ । नेपालले अहिलेसम्म एसिया कप खेलेको छैन ।

 

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top