अमेरिकालाई चीनको कडा जवाफ : ‘चाइना भाइरस’ कि ‘ट्रम्प्यान्डेमिक?’

अमेरिकाले चीनमाथि कोरोना भाइरस (कोभिड-१९) फैलाएको दोष लगाउँदै ‘चिनियाँ भाइरस’को संज्ञा दिइरहेका बेला चीनले कडा जवाफ फर्काएको छ । शुक्रबार चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ (Chinese Virus) भनेर आलंकारिक हिसाबले भाइरसको उत्पत्तिनै चीनमा भएझै गरि भ्रम फैल्याएको प्रति आपत्ति जनाउँदै यो ‘ट्रम्प्यान्डेमिक’ (Trumpandemic) पनि हुनसक्ने जनाएको हो । ‘ट्रम्प्यान्डेमिक’ ट्रंप र प्याण्डेमिक जोडिएर बनाइएको नयाँ शब्द भएको अनुमान गर्न सकिन्छ ।

‘अमेरिकामा चीनलाई कलंकित पार्ने प्रयास स्वरूप कोरोना महामारीलाई चीनको मात्रै जिम्मेवारी जस्तो गरि बेवास्ता गरियो’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ्ग शुआङ्गले रिपोर्टरहरुलाइ भनेका थिए । उनको संकेत धेरै पहिलादेखि अमेरिकी तथा पश्चिमा मिडियाहरुले यो भाइरसलाई ‘चाइनिज या वुहान भाइरस’ भन्दै फैल्याइएका भ्रमतर्फ केन्द्रित थियो । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य अधिकारीहरुले समेत ति मिडियाहरुकै भाषा बोलेका थिए ।

यस्ता भाषाको प्रयोग गरेर पश्चिमी मिडिया, नेता तथा अधिकारीहरुले चिनियाँ जनताहरुले मानव स्वास्थ्यको रक्षार्थ गरेको योगदान र त्यागको अवहेलना गरेको प्रवक्ता गेङ्गको भनाइ थियो ।

दुई महिना अघिदेखि चीनले अमेरिकालाई कोरोना भाइरस विरुद्ध सजग रहन समयमै सूचना र सहयोग उपलब्ध गराएको पनि गेङ्गले जानकारी दिएका थिए । यो तथ्य स्वयं अमेरिकी राष्ट्रपतिलाई पनि जानकारी भएको गत हप्ता भएको एक प्रेस ब्रिफिङगमा स्वीकार गरिएको थियो । तर त्यस्ता सहयोगहरुलाई छायामा पार्ने गरि अनावश्यक भ्रम छरिएकोप्रति प्रवक्ता गेङ्गले अफसोच प्रकट गरेका थिए ।

‘चीनले प्रदान गरेको यस्तो मूल्यवान सहयोग, सूचना र समय अमेरिकी मिडिया र बिषेशज्ञहरुको जानकारीमा हुँदाहुँदै पनि बेकारको तर्क गर्नु दयनीय क्रियाकलाप हो’, प्रवक्ता गेङ्गले भनेका थिए ।

विश्वमा फैलिएको यस महामारीको रोकथाम गर्न सफल एकमात्र देश चीनमाथि पश्चिमाहरुले सूचना लुकाएको आरोप लगाईरहेका बेला प्रवक्ता गेङ्गले आफूहरुले खुल्ला र पारदर्शी ढंगले भाइरस नियन्त्रणका सबै प्रयासहरु व्यापक रुपमा गरेकोसमेत दावी गरेका थिए ।

गेङ्गले चिनियाँ तथा अमेरिकी स्वास्थ्य अधिकारीहरुबीच दर्जनौं पटक भेटघाट र छलफल भएको स्मरण गराउँदै भाइरस नियन्त्रणका लागि सहकार्यको प्रयासप्रति अमेरिकाले बेवास्ता गरेको बताएका थिए । भाइरस नियन्त्रणको प्रयासमा आपसी सहकार्यका लागि चीनले अमेरिकी जवाफको अपेक्षा गरेको तर आफ्नै गलत रबैयाले अहिले उनीहरु स्वयं संकटमा परेको उनको भनाइ थियो ।

‘हामीहरु के अपेक्षा गर्छौं भने अमेरिकाले तथ्यगत उद्धेश्य आत्मसात गर्नेछ, अन्तर्राष्ट्रिय आवाजको सम्मान गर्दै आफूले  निभाउनु पर्ने भूमिका निभाउनेछ’, उनले भनेका थिए, ‘यस महामारी विरुद्ध लड्न रचनात्मक भूमिका निभाउने हाम्रो अपेक्षा विपरित अरु देशको निन्दा र बद्ख्वाइ गर्न छोड्नेछ, खराब परिणामको जिम्मेवारी अरुमाथि थोपर्ने छैन ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफूले प्रयोग गरेको ‘चाइनिज भाइरस’ भन्ने पदावली कुनै जातिवादी नभएको जिकिर गर्दै यो संक्रामक भाइरस चीनबाट आएको भन्न खोजेको स्पष्टिकरण दिएका छन् । बेइजीङले उनको ‘चिनियाँ भाइरस’ भन्ने पदावलीप्रति आपत्ति जनाएपछि ट्रम्पले यस्तो जिकिर गरेका थिए ।

सिन्ह्वाले शुक्रबार ट्वीटको लामो शृंखलामार्फत यस्तो ‘विशेषण’ को प्रयोगकर्तालाई कट्टरपन्थी भन्दै कटु आलोचना गरेको थियो । साथै ट्रम्पको उपहासलाई उनकै शैलीमा जवाफ दिँदै कोरोना महामारीलाई ‘ट्रम्प्यान्डेमिक’ को उपमा दिएको थियो ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top